काठमाडौं, १ असोजः नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ।
उहाँले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बताउनु भएको छ । 'नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौँ', उहाँले लेख्नु भएको छ ।
फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले पार्टीलाई नयाँ पुस्ताको विश्वास जित्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जनतासँगको सम्बन्धलाई अझ जीवन्त र घनिष्ठ बनाउन, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिन तथा आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टी पंक्तिको मनोबल उच्च राख्न आग्रह गर्नुभएको छ । 'नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ, जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ, आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ', उहाँले भन्नुभयो ।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बन्न र अरूलाई पनि सचेत बनाउनुपर्ने भन्दै उहाँले लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ, लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ, जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ,’ महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ।



