काठमाडौँ, ६ असोजः जगदीश खरेल सञ्चार क्षेत्रमा चिर परिचित नाम हो । अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय खरेल चर्चित टेलिभिजन प्रस्तोताको रूपमा परिचित हुनुहुन्छ । तिनै खरेल हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएको छ । उहाँ जेन्जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारमन्त्री बन्नुभएको हो ।
आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएका खरेलले आजै सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो ।
मन्त्री हुनुअघि खरेल इमेज च्यानल टेलिभिजनका समाचार प्रमुख हुनुहुन्थ्यो । उहाँले उक्त टेलिभिजनबाट प्रसारित लोकप्रिय कार्यक्रम ‘हटसिट’ सञ्चालन गर्दै आउनुभएको थियो । शालिनशैलीमा खरो प्रश्न सोध्ने पत्रकार आज आफैँ उत्तर दिने ठाउँमा पुग्नुभएको छ ।
पत्रकारितामा लामो अनुभव भएका खरेलको जन्म विसं २०३९ साउन २२ गते दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेमा भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गर्नुभएका खरेलले अन्तरराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहनुभएको छ ।
स्थानीय कालिनाथ माविबाट प्रवेशीका उतीर्ण खरेलले काठमाडौँ आएर रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गर्नुभयो । विसं २०५६ मा ‘केएटिएच एफएम’ मा काम गर्नुभएका उहाँ २०५९ असार २९ देखि इमेज च्यानल टेलिभिजनमा आवद्ध हुनुभएको हो । खरेलले निरन्तर इमेज च्यानलमा रेडियोमा कार्यक्रम प्रस्तोता, रिपोर्टिङ, कार्यक्रम निर्माता हुँदै समाचार प्रमुख (करिब तीन महिना अगाडि) बन्नुभयो ।
आफ्नो नीजि कम्पनी मिडिया हेल्पलाइनका (मिडियासम्बन्धी काम गर्ने संस्था)को कार्यकारी निर्देशक खरेल सरसफाइ, विपद् तथा समसामयिक विषयमा ‘टकअफ द टाउन’ कार्यक्रम निर्माता तथा सञ्चालकसमेत हुनुहुन्थ्यो ।
पत्रकारितामार्फत राजनैतिक तथा अन्य क्षेत्रका उच्च तहका व्यक्तिसँग नजिकको सम्बन्ध राख्नुभएका खरेल आजसम्म पत्रकारिताभन्दा बाहिर नगई निरन्तर यो क्षेत्रमा क्रियाशील रहनुभएको थियो । खरो प्रश्न तर शालिन ढङ्गले सोध्ने, कुनै पनि विषयमा गहन अध्ययनसहित प्रस्तुत हुने स्वभावका कारण पत्रकारितामा उहाँको छुट्टै छाप छ । अब ‘जेनजी’ आन्दोलनपछिको विषम परिस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा आउनुभएका खरेलबाट पत्रकारले मात्रै होइन, आमनागरिकले पनि धेरै आशा राखेका छन् । उहाँको भूमिका र कार्यकाल अब कस्तो रहला भनेर धेरैले चासोका साथ हेरिरहेका छन् ।



