बिर्तामोड, ७ असोज : शान्ति सुरक्षालाई लक्षित गर्दै बिर्तामोड क्षेत्रमा नेपाल प्रहरीले गस्ती थप गरेको छ।
जेनजी समूहको प्रदर्शनीका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी ध्वस्त भएपछि जिल्ला प्रहरी कार्यालयमा केन्द्रित भएको प्रहरीले सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि बिर्तामोडमा गस्ती सशक्त पारेको हो।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी विजय श्रेष्ठका अनुसार प्रहरी नभएको मौका छोपी अवैध व्यापार तथा आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावना भएकाले हतियारसहित रातभर गस्ती संचालन गरिएको हो। प्रहरीले भोलिदेखि बिर्तामोडको मुक्तिचोकमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई नियमित ड्युटीमा खटाउने तयारी गरेको छ।
यसअघि आगजनीका कारण क्षति भएको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको भवन पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। पुनर्निर्माणमा पदम श्रेष्ठ, रमेश चौधरी, विपिन बजगाईलगायत युवा व्यवसायी सक्रिय रहेका छन् भने विभिन्न स्थानीय संघ–संस्थाबाट पनि सहयोग जुटिरहेको छ। पुनर्निर्माण सम्पन्न भएपछि अनारमनी प्रहरी टोली स्थायी रूपमा बिर्तामोड फर्कने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी हुन्छ भन्ने कुरा कल्पनासमेत नगरेको बताउनुभयो। उहाँले पुनर्निर्माणका लागि स्थानीय संघ–संस्थाले देखाएको एकताको प्रशंसा गर्दै शान्ति सुरक्षामा प्रहरी उच्च मनोबलसहित खटिने बताउनु भएको छ ।



