विराटनगर, १ कात्तिकः विराटनगरबाट भारतीय नक्कली नोटसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद राजालाई साँझ ६ः३० बजेतिर विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कबाट पक्राउ गरिएको हो ।
उनीहरु भारतको जोगवनीबाट सीटी सफारी चढेर आएका विराटनगर आएको प्रहरीले जनाएको छ । विराटनगर बसपार्कमा ओर्लिएपछि अरवाजले सफारी चालकलाई भारतीय २ सय रूपैयाँको नोट दिएका थिए । सफारी चालकले नोट नक्कलीजस्तो लागेर प्रहरीलाई खबर गरे । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद भएको जानकारी चुँडालले दिनुभयो ।
नक्कली भारतीय नोट फेला परेपछि प्रहरीले सुरुमा अरवाजलाई पक्राउ गर्यो । उनीसँगै आएका राजा पनि पक्राउ परे । नक्कली भारतीय नोट नेपाल भित्राउने गिरोहसँग सम्बन्धित हुन सक्ने प्रहरीको आशंका छ ।
प्रहरीका अनुसार फेला परेका नोटहरू विशेष प्रकारको प्रिन्ट र रंगको प्रयोग गरी छपाइ गरिएको देखिन्छ । उक्त नोटहरु सर्वसाधारणले वास्तविक नोटभन्दा फरक छुट्याउन नसक्ने अवस्थाको रहेको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेका दुवै जनामाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।



