बिर्तामोड, १२ कात्तिक : बिर्तामोड नगरपालिका–४ मा रहेको तारा नमस्ते बालग्रामको अध्यक्षमा पुन: नारायण प्रसाद पोख्रेल चयन हुनु भएको छ ।
संस्थाको बुधबार सम्पन्न छैटौं अधिवेशन तथा १०औँ वार्षिक साधारण सभाले पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा यामनाथ विमली, सचिवमा दिपेन्द्र राउत र कोषाध्यक्षमा गोमा भट्टराई चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा शान्ता रोक्का, राजेन्द्र प्रसाद रेग्मी, इन्दु केसी, मदन रसाइली, हरि प्रसाद ओझा र कमला पाठक सिवाकोटी चयन हुनु भएको छ ।
कोशी प्रदेशका खानेपानी तथा सिचाइ मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा अधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन उपाध्यक्ष यामनाथ विमलीले प्रस्तुत गर्नु भएको थियो ।
यस बालग्राममा अहिले ३० जना वालवालिकाले आश्रय लिइरहेका छन् ।




