बिर्तामोड, १४ कात्तिक : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा राजकुमार कार्की निर्वाचित हुनुभएको छ ।
आज झापाको बिर्तामोडमा सम्पन्न चौँथो अधिवेशन तथा सातौँ वार्षिक साधारण सभाले दुई वर्षे कार्यकालका लागि कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बिर्तामोड एजुकेशन फाउन्डेशनका सञ्चालक समेत रहनुभएका कार्कीले इक्यान झापाको स्थापनाकाल देखिनै विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ । उहाँ कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नु भएको हो ।
त्यस्तै समितिको आईपीपीमा निर्वतमान अध्यक्ष रोशन सुवेदी, उपाध्यक्षमा अशोक भण्डारी चयन हुनु भएको छ । भण्डारी यसअघि सचिवको जिम्मेवारीमा रहनु भएको थियो ।
त्यस्तै संस्थाको सचिवमा विशाल सिटौला,कोषाध्यक्षमा तुलसी पाठक र सदस्यमा सरोश खरेल, नविन बोहोरा, मोहन पराजुली, निशा दुलाल सर्वसम्मत चयन हुनु भएको छ ।
शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको नेपाल शैक्षिक परामर्श संघमा ५० बढी सदस्यहरु छन् । संस्थाको संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल हो ।
नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा इक्यान झापाको चौथो अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित समितिले आजै सपथ ग्रहण गर्दै दुई वर्षे कार्यकालको शुरुवात गरेको छ ।


