अर्जुनधारा, १५ कात्तिक : नेकपा एमाले अर्जुनधाराले कार्तिक १८ गते नगरस्तरीय बृहत मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ।
शनिबार नगर पार्टी कार्यालयमा बसेको एमाले अर्जुनधारा नगर कमिटीको सातौँ पूर्ण बैठकले शक्ति प्रदर्शनसहित नगरस्तरीय बृहत मोटरसाइकल र्याली गर्ने निर्णय गरेको हो।
निर्णयको जानकारी दिँदै एमाले अर्जुनधाराका सचिव श्रीप्रसाद नेपालले जनसहभागिता सुनिश्चित गर्न मातहतका सबै कमिटीहरूलाई सर्कुलर पठाइने बताउनु भयो ।
बैठकले भर्खरैको अविरल वर्षाका कारण कृषकहरूको धानबालीमा पुगेको क्षतिप्रति राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, मंसिर महिनाको पहिलो साता सबै वडामा पार्टी प्रशिक्षण सञ्चालन गर्ने र मतदाता नामावलीमा छुटेका तथा थप गर्नुपर्ने मतदाताहरूको सहजीकरणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरिएको सचिव नेपालले जानकारी दिनुभयो।
अर्जुनधारा नगर कमिटी अध्यक्ष बिर्ख प्रधानको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष प्रेमबहादुर गिरी र केन्द्रीय सदस्य अमृतलाल राजवंशीले सम्बोधन गर्नुभएको थियो ।
बैठकमा ‘जेनजी आन्दोलन’पछि उत्पन्न राजनीतिक परिस्थिति र वर्तमान अवस्थाबारे नगरका ११ वटै वडा कमिटीहरूबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो।



