बिर्तामोड, १८ झापा : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले स्वास्थ्यकर्मीको हक–अधिकार, पेशागत सुरक्षा र जीवनस्तर सुधारका मागसहित मंगलबार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ।
महासंघका जिल्ला अध्यक्ष भरत खतिवडाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो। महासंघले लामो समयदेखि स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारलाई आग्रह गर्दै आएको तर मागहरू बेवास्ता भएपछि बाध्य भएर चेतावनीस्वरूप ज्ञापनपत्र बुझाइएको जनाएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यकर्मीले प्रदान गरेको ज्ञापन पत्र केन्द्रमा पठाउने बताउनु भयो ।
महासंघले अघि सारेका तीन मुख्य माग यस प्रकार छन् :
१. निजि, सरकारी, गैरनिजि तथा गैरसरकारी स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई समान रूपमा राज्यले अपनाउने नीति अनुसार सम्मानजनक तलब–भत्ता प्रवाह गरियोस् र सरकारले तोकेको पारिश्रमिक अबिलम्ब कार्यान्वयन गरियोस्।
२.सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीका रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी।
३.कानून विपरीत स्वास्थ्यकर्मीको पेशागत अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नचाल्न सरकारलाई सचेत गराउने।
महासंघले स्वास्थ्यकर्मीका हक–अधिकार र सुरक्षाप्रति राज्य गम्भीर नभए देशभर आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा झापाका विभिन्न स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।



