झापा, १९ कात्तिक : विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिकको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा एक थान इन्सास राइफल फेला परेको छ।
आज साँझ स्थानीयले झाडीमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले ०३११००८७२ नम्बरको इन्सास हतियार, सोही हतियारको एक थान म्याग्जिन, १९ राउण्ड सावुत गोली, र २ राउण्ड बेसावुत गोली बरामद गरेको हो।
प्रहरीका अनुसार सो हतियार भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको थियो। बरामद हतियार अहिले सोही कार्यालयमा ल्याई राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



