काठमाडौँ, २१ कात्तिक । आजदेखि नेपालका सिनेमा घरमा दुई नयाँ नेपाली फिल्म ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै यी दुवै फिल्म प्रदर्शनमा आएका हुन् ।
यद्यपि देशभरका फिल्म हलमा यी दुवै फिल्मले मात्र कब्जा जमाउन पाएको छैन । किनभने गत साताको ‘परान’, त्यसअघि रिलिज भएका नेपाली र आजै एक हिन्दी र एक अंग्रेजी फिल्म पनि हलमा लागेका छन् ।
जारी–२
उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी–२’ करिब २ सय शो सहित प्रदर्शनमा आएको छ । केही वर्ष अघिको व्यावसायिक सफल फिल्म ‘जारी’को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मको बिहीबार साँझ काठमाडौँमा प्रिमियर भयो । फिल्म ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, सिर्जना निङ्लेखु लगायतको अभिनय छ ।
मन बिनाको धन
टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ बालगायकको रूपमा भाइरल असोक दर्जीको जीवनकथामा बनेको हो । सुरुमा कम शोज पाएको फिल्म माउथ पब्लिसिटीले शो बढ्ने अपेक्षा गरिएको छ । फिल्मको शुक्रबार बिहान प्रेस शो समेत राखिएको छ । फिल्मले अशोकको साङ्गीतिक सङ्घर्ष तथा सफलताको कथा प्रेरणाको रूपमा देखाएछ । ‘मन बिनाको धन’ गायक अशोक दर्जीकै मुख्य भूमिका छ । अशोकको अलावा रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।



