मेचीनगर, २३ कात्तिक । मेचीनगर नगरपालिका क्षेत्रभित्र आजदेखि गाईभैँसीलाई खोरेत रोग विरूद्धको खोप लगाउन सुरू गरिएको छ ।राष्ट्रिय पशुपंक्षी खोप कार्यक्रम अन्तरगत कोशी प्रदेशमा नै पहिलो चरणको खोरेत रोग विरूद्धको खोप अभियान मेचीनगरमा सुरू गरिएको हो ।
आइतबार नगरपालिकाको पशु शाखामा कोशी प्रदेश पशुपंक्षी तथा मस्य विकास निर्देशानलयकी पशु चिकित्सक अधिकृत सातौं पवित्रा दाहालले नगरका १५ वटै वडामा खटिएका भ्याक्सिनेटरहरूलाई राम्रो सहज भएर काम गर्न आग्रह गर्नुभएको थियो ।
नगरपालिकाका पशु सेवा शाखाको सिफारिसमा भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाबाट नियुक्त भइ खटिइ आएका भ्याक्सिनेटरहरूलाई सहयोग, सहजीकरण, अनुगमन र व्यवस्थापन गर्न प्रत्येक वडामा पुग्न टोल, समूह र फोकल पर्सन समेत तयारी गरिएको छ ।
नगरपालिकाका पशु सेवा शाखाका पशु प्राविधिक बिक्रम गुरूङका अनुसार ९ वटा टोली, ४ वटा समूह, खोप कार्यक्रम रेखदेख, अनुगमनका लाग वडा नम्बर १, २, ३ र ४ मा वडा प्राविधिक मदनकुमार भण्डारी, वडा नम्बर ५, ६ र ७ मा वडा प्राविधिक रञ्जु खड्का, वडा नम्बर ९, १० र ११ मा वडा प्राविधिक कञ्चन दाहाल, वडा नम्बर १२, १३, १४ र १५ मा वडा प्राविधिक रेशबहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ ।
६/६ महिनामा गाईभैँसीलाई लगाउने उक्त खोप अर्को ६ महिनामा बुस्टर खोप लगाइने बताइएको छ । त्यसपछि बाख्रा, कुखुरा, बंगुर लगायतका पशुपंक्षीलाई अन्य खोप पनि लगाइदैँ जाने गुरूङले बताउनुभयो । यस्तै सम्पूर्ण वडाको खोप वितरण, रेखदेख, तथा खोप फोकल व्यक्ति पशु प्राविधिक छत्रबहादुर राईलाई तोकिएको छ ।
इलाम जिल्लालाई खोरेत खोप मुक्त घोषणा गर्ने लक्ष्य अनुरूप छिमेकी जिल्लाहरूलाई बफर जोन अन्तरगत झापामा पनि यो अभियान सुरू गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी सरकारले इलामलाई खोरेत मुक्त जिल्ला बनाएर त्यहाँका उत्पादनलाई अन्तरास्ट्रिय व्यापार बढाउने उदेश्य रहेको छ ।



