झापा, २६ कात्तिक : कवि नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुंङ्गो फुलेपछि’ लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशद्वारा विराटनगरस्थित विष्णुमाया पुस्तकालयमा आयोजित विशेष समारोहका बीच सो कृतिको लोकार्पण सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले मुक्तक वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि बलराम पोखरेल, कवि राज न्यौपाने, नगेन्द्र स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, भूषण ढुंगेल, उमेश लुइटेल, प्रयाग न्यौपाने, सुरेन्द्रकुमार शाह तथा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको हो।
समीक्षक भूषण ढुंगेल र उमेश लुइटेलले कृतिबारे आफ्ना समीक्षात्मक धारणा प्रस्तुत गर्नुभएको थियो। समीक्षक लुइटेलका अनुसार कृतिमा उपयुक्त बिम्ब संयोजन गरिएको छ भने प्रमुख अतिथि प्राज्ञ पोखरेलले यो कृति मानवीय संवेदनायुक्त रही समाज र वर्तमान समयको आवाज बोलेको बताउनुभयो।
आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले “भविष्यप्रतिको उज्यालो आशाले नै जीवनलाई सार्थक बनाउँछ” भन्ने विचार व्यक्त गर्दै सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा मुक्तककार नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, पुष्पा सायरा, र प्रज्ञा कट्टेलले कृतिभित्रका मुक्तक वाचन गर्नुभएको थियो।
त्यस अवसरमा खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, मेदिनी शर्मा, देवी पन्थी, डमरु बल्लभ भण्डारी, हरिहर भण्डारी, राजेन्द्र गुरागाईं, दिङ्लाली कन्छो, निर्मला कोइराला, चिरञ्जीवी काफ्ले, स्वर संगीतका अध्यक्ष कुशेश्वर राई, नोबेल साकोसकी अध्यक्ष मन्जु दाहाल, सृजना इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, सप्तरंगी साहित्य समाज नेपालका अध्यक्ष रमेन्द्र कोइराला लगायतका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
लेखक नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुंङ्गो फुलेपछि’ मा समय, समाज र मानवीय संवेदनाका विविध आयामहरू समेटिएका छन्।
कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी रायमाझीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलले गर्नुभएको थियो। वरिष्ठ साहित्यकारहरूको बाक्लो उपस्थितिले विष्णुमाया पुस्तकालयको सभाहल खचाखच भरिएको थियो।
प्रतिष्ठानका सचिव मदन भण्डारीले निकट भविष्यमा मुक्तक लेखनमा रुचि राख्ने साहित्यकारहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।



