बिर्तामोड, २८ कात्तिक : सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताउनु भएको छ । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकाले पुनर्स्थापना हुनैपर्ने बताउनु भयो।
आज बिहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको मुद्दालाई छिट्टै छलफलमा लैजानेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो। कानुनी, व्यवहारिक र आवश्यकताको हिसाबले संसद् पुनर्स्थापना हुने सभामुख घिमिरेको भनाइ छ।
छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति आउने र त्यहाँबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताउनुभयो। जननिर्वाचित संस्थालाई भंग गरेपछि मुलुक थप संकटमा गएको सभामुख घिमिरेको भनाइ छ।
सभामुख घिमिरेले भन्नुभयो– “संसद् पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ। जेन–जीहरूको माग सम्बोधन गर्ने बाटो पनि यही हो।”
संविधानका के–कस्ता विषय संशोधन गर्नुपर्ने हो, छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ। वर्तमान सरकारका प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताउँदै उहाँले सरकार नै असंवैधानिक भएको स्पष्ट पार्नुभयो।
बिहीबार दिउँसो झापा आउनु भएका सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा रहेका विकास आयोजनाहरूको अनुगमन गर्नुभयो। गोकुल जोशी मार्ग, हर्कलाल मार्ग लगायतका सडक पूर्वाधार अनुगमन गर्नुभयो ।
जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय र यातायात कार्यालयहरूको अनुगमन गरिएको सचिवालयका हिमाल मैनालीले जानकारी दिनुभयो।
दुई दिनका लागि झापा आउनु भएका सभामुख घिमिरेले भोलि बिर्तामोडस्थित देवी माविको भवन शिलान्यास गर्ने कार्यक्रम छ।



