काठमाडौँ, ३० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
एमाले पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले अवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग गर्नुभयो।
उहॉंले यसरी अवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्नसक्ने भनी चिन्ता व्यक्त गर्नुभयो। उहॉंले संसद् पुनःस्थापनाबाट मात्र देशले राजनीतिक निकास पाउने विश्वाससहित आफ्नो पार्टी पुनःस्थापनाका पक्षमा रहेको दावी गर्नुभयो।
एमाले अध्यक्ष ओलीले पत्रकारिता क्षेत्रमा स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिनुभयो। छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमान अवस्थामा सञ्चारमाध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशीलता र प्रेस चौतारीका गतिविधिका बारेमा जानकारी गराएक थियो।



