काठमाडौँ, १ मंसिरः नेपालमा कफी उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार २१ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा कफी उत्पादन वृद्धि भएको जानकारी दिएको हो।
बोर्डका कृषि विकास अधिकृत गौरव लुईंटेलले आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९ मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको बताउनुभयो। उहॉंका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ५०१ दशमलब ३ मेट्रिक टन कफी उत्पादन भएको थियो।
उहॉंले पछिल्लो समय कफी रोपणको क्षेत्रमा पनि वृद्धि भएको जानकारी दिनुभयो। पछिल्लो ५ वर्षमा कफीको उत्पादन र कफी रोपण क्षेत्रमा पनि वृद्धि भइरहेको उहॉंले बताउनुभयो। यद्यपि, नेपालको मागअनुसार भने उत्पादन हुन नसकेको उहॉंको भनाइ छ।
उहॉंले उत्पादन धरै कम भए पनि पछिल्लो वर्षहरुमा भने क्रमशः बढिरहेको जानकारी दिनुभयो। उहॉंले नेपालले कफी आयात र निर्यात दुवै गर्ने बताउनुभयो।
महँगो कफी निर्यात गरेर सस्तो मूल्यको कफी आयात गर्ने गरेको उहॉंको भनाइ छ। उहॉंले आर्थिक वर्ष २०८१/८२ मा नेपालले १४ करोड ४१ लाख रुपैयाँ बराबरको २३० मेट्रिकटन कफी आयात गरेको जानकारी दिनुभयो। सोही अवधिमा ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ मेट्रिकटन कफी निर्यात भएको छ।
बोर्डका अनुसार नेपालमा कफी उत्पादन २०७०/७१ को ४२९ मेट्रिकटनबाट २०८१/८२ मा ६४१ दशमलव ९ मेट्रिकटन पुगेको छ। तर, त्यही अवधिमा कफी आयात झनै तीव्र रूपमा बढेको देखिन्छ।
२०८१/८२ मा कफी आयात २३४ मेट्रिकटन रहँदा आयात मूल्य १४ करोड नाघेको छ। निर्यात भने अघिल्लो वर्षको तुलनामा घट्दै ६३ हजार ९९८ किलोमा झरेको छ। अघिल्लो वर्षमा ८८ हजार ८५६ किलो कफी निर्यात भएको थियो।
बोर्डले सोमबारदेखि लागू हुने गरी कच्चा कफीको न्यूनतम मूल्य पनि तोकेको छ। मूल्य गत वर्षकै दर कायम गरिएको हो। बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’को मूल्य प्रतिकेजी १०५ रुपैयाँ र ग्रेड ‘बी’को ९५ रुपैयाँ तोकिएको छ।
पार्चमेन्ट कफीको भने ग्रेड ‘ए’को प्रति केजी ५३५ रुपैयाँ र ग्रेड बी को प्रति केजी ४८२ रुपैयाँ ताकिएको छ। ड्राइ चेरी कफीको ग्रेड ‘ए’को प्रतिकेजी २८० र ग्रेड ‘बी’को प्रति केजी २४७ रुपैयाँ तोकिएको बोर्डले जनाएको छ।
बोर्डले बोर्डले ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ नारासहित २१ औँ राष्ट्रिय कफी दिवस मनाएको हो। कफी दिवसको अवसरमा कफी प्रदर्शनीसमेत गरिएको थियो।



