सुलीकोट, ३ मङ्सिर । गोरखाको पहाडी भू–भाग बारपाक सुलीकोट गाउँपालिका – १ बारपाकमा आजकल किबीको मिठासले सजिएको छ । दरौदी नदीको हावाले चुम्बन गरेको पहाड मनासलुको छायाँमा रमाएको खेतबारी र किसानका ओढार भित्र बस्ने सपना सबै आज किबीको बोटसँगै हरियाली भएर उम्रिएका छन् । पहाडको कठोर ढुङ्गा जस्तो कठिन जीबन बुट्यान फाड्दै अघि बढेका यहाँका किसानहरु अहिले उत्कृष्ट उत्पादनले उज्यालो भविष्यको सम्भवना देखिरहेका छन् ।
यसवर्ष बारपाकका किसानहरुले करिब ४० लाख रुपियाँ बराबरको किबी बिक्री गर्न सफल भएका छन् । बारपाकका किसानहरुले १ किलोलाई ३ सय ५० रुपियाँमा बेच्दै आएका छन् भने बारपाकमा मात्र ए ग्रेडको किबी ८० क्वीन्टल ३५० रुपियाँको दरले २० जना किसानले २८ लाख रुपियाँमा बिक्री गरिएको किबी व्यवसायी चन्द्रबहादुर घलले बताउनुभयो ।
त्यस्तै बी ग्रेडको किबीलाई १ केजीको २ सय ५० रुपियाँ बिक्री गर्ने गरिएकाले अहिले बारपाकबाट झण्डै ५० क्वीन्टल बी ग्रेडको किबीबाट १२ लाख ५० हजार रुपियाँ बराबरको किबी बिक्री गर्न सफल भएको किबी कृषक घलेको भनाइ छ ।
किसानहरुले परिश्रमका दानालाई गहिरो मिहिनेतले सिँचाइ गर्दा किबी बगानले जीबनमा नयाँ हरियो अध्याय लेखिदिएको किसानहरुको अनुभुति छ । किबीका परिपक्का बोटहरुमा फलामका गुणझै झुण्डिएका फलहरुले गर्दा अहिले किसानहरुले गर्ब गरिरहेका छन् ।
बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा २०७६ सालमा किबीका बिरुवाहरु निःशुल्क रुपमा वितरण गर्दा शङ्का र जिज्ञासाको विषय बनेको थियो । तर समयले प्रमाणित गरिदियो । बारपाकको माटो, हाबापानी र मेहनेतले किबीलाई पकेट क्षेत्रको रुपमा चिनायो ।
बारपाक किबीको नमुना क्षेत्र बन्दै गएको छ, नमुना कृषक चन्द्र बहादुर घलेले भन्नुभयो, ‘‘जौविक खेती र प्राकृति स्वाद पहिलो रोजाई भएकाले काठमाडौँ, पोखरा र बुटबलका व्यापारीहरु किबी किन्न बारपाक आईपुगेको उहाँले बताउनुभयो ।’’
अहिले बारपाक किसानहरु किबी खेती विस्तार गर्दै जाने योजना किसानहरुको छ । बारपाकमा पालिकाले तालिम, प्राबिधिक सहयोग, निःशुल्क किबीका बिरुवा, बजार पहुँचका कार्यक्रम गरी कृषकलाई सहयोग गर्दै आएकाले किबी कृषकलाई सहज भएको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टको भनाइ छ ।
बारपाकका किसानहरुको यो उपलब्धीले पहाडमा बसेर पनि विश्व बजारसम्म पुग्न सकिने प्रमाण दिएको छ । किबीको हरियो स्वादले किसानको जीवनमा हरियो उज्यालो भित्रयाएको छ । अनि बारपाकको पहाडमा फेरि एउटा नयाँ कृषिको बिहान उदाउँदैछ भन्ने पुष्टि गरेको छ ।



