चितवन, ७ मंसिरः नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा भारी वृद्धि गरेको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको संघले तोकेको मूल्यसूचीमा भारी वृद्धि भएको हो ।
आजदेखि लागू हुनेगरी वृद्धि भएको मूल्यअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २०, ठूलो अण्डा पाँच सय पाँच र मिडिएम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।
भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उहॉंको भनाइ छ ।
कँडेलले भन्नुभयो, ‘नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने देखियो ।’ अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६ रुपैयाँ ५७ पैसा पर्न आउँछ । अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाएको उहॉंको भनाइ छ ।
नेपालमा अण्डाको बजारीकरणमा जुटिरहेको सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने गरेको बताउनुभयो । उहॉंका अनुसार जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण माग बढेको हो ।
तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट पाँच सय ३० पुगेकोमा क्रमशः चार सयमा झरेको थियो । पुनः क्रमश बढ्दै गएर किसानले लागत मूल्य पाउने अवस्थामा पुगेको हो । यससँगै किसान लाभान्वित हुने भएका छन् ।
अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।



