शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापा जिल्ला कारागारका चौकीदार शिवाकोटी र पूर्वभाइ चौकीदार शेर्पाको सरूवा

आइतवार, साउन २१, २०८०

झापा । भद्रपुरस्थित झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्वभाइ चौकीदार पासाङ शेर्पा (कुमार) को अन्यत्र सरूवा गरिएको छ ।
कारागार प्रशासनले भाइ चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेको थियो ।

कारागारको तनावपूर्णस्थित तत्काल नियन्त्रणमा लिनलाई लावतीलाई सरूवा नगर्ने आदेश आएपछि आन्दोलन शान्त बनेको थियो । आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीबन्दीसँग वार्ता गरेका थिए । चौकीदार शिवाकोटी र शेर्पालाई सरूवा गर्ने सहमति भएपछि आज उनीहरूलाई सरुवा गरिएको हो । सोही माग बमोजिम चौकीदार शिवाकोटी र शेर्पालाई आइतबार दिउँसो यहाँबाट पठाइएको झापा कारागारका प्रमुख तथा जेलर मोहनलाल पनेरुले जानकारी दिनु भयो । कारागार व्यवस्था विभागको आदेश बमोजिम शिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको जलेर पनेरूले बताउनु भयो ।

शुक्रबार करिब डेढ घण्टा आन्दोलित बनेका कैदीबन्दीहरूले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा क्षति भएको थियो । कैदीबन्दीले भित्रबाट ढुंगा र इँटा बर्साउँदा कारागारको नवनिर्मित कार्यालय भवन, गाडी, बिजुलीका सामान, सीसी टिभी क्यामेरामा क्षति पुगेको जनाइएको छ ।

सम्बन्धित खबर