काठमाडौं, ११ मंसिर: हङकङको ताईपोमा भीषण आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ ।
आगलागीमा परेर ४५ जना गम्भीर घाइते भएका छन् भने २७९ जना सम्पर्कविहीन रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आगलागी भएका भवनमा ठूलो संख्यामा मानिसको बसोबास थियो। हङकङ समयअनुसरा बिहीबार बिहान ३ बजेसम्ममा नौसय भन्दा बढी बासिन्दालाई आगलागी भएको भवनबाट सामुदायिक हलहरूमा आश्रय दिइएको छ।
आगलागीमा परेका सात भवनमध्ये तीन वटामा ठूलो क्षति पुगेको छ। बुधबार दिउँसोबाट सुरु भएको आगलागी झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको छ।
अप्रत्याशित र विपत्तिजन्य घटना घटेपछि शातिनस्थित प्रिन्स अफ वेल्स अस्पतालमा राति नै पत्रकार सम्मेलनमार्फत घटना विवरणबारे जानकारी गराएका हङकङका प्रमुख कार्यकारी जोन लीले आगलागीलाई ठूलो विपत्ति भन्नुभएको छ।
साथै, सहरमा डिसेम्बर ७ का लागि तोकिएको संसद्को चुनावी गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।
यसअघि, राष्ट्रपति सी जिनपिङले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाबारे दुःख व्यक्त गर्नुभएको थियो।
भवनहरूको मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदारका दुई निर्देशक र एक सल्लाहकारसहित तीन जनालाई भवन नर्मिाणमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ गरिएको छ।



