काठमाडौं, १६ मंसिरः हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो ।
२२.६६ किलोमिटर सडक खण्ड निर्माणका लागि जेभीसँग २०७८ माघ २ गते ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक–पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो।
सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ।
ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख १ करोड ७१ लाख रुपैयाँ जफत गरिने छ। पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल हुनेछ। निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो।
योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो।
सहरी विकासमन्त्री कुलमान घिसिङको अग्रसरतामा काम नगर्ने ठेकेदारसँग विभागले ठेक्का तोड्दै आएको छ।



