बिर्तामोड, २३ मंसिर : भ्रष्टाचारको अन्त्य सुशासन प्रवद्र्धनमा टेवा पुर्याएवापत तीन जना पत्रकारलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अन्तराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज उक्त पुरस्कार वितरण गरेको हो ।
पुरस्कृत हुनेहरुमा पत्रकार इन्दु पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जीवी घिमिरे हुनुहुन्छ । उहाँहरुलाई नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यले नगद र सम्मानपत्रले सम्मान गर्नुभयो ।
महासङ्घले हेम सरिता फाउन्डेसन अमेरिकासँगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने र पत्रकारितामार्फत सुशासनका लागि महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई हरेक वर्ष रु ५० हजार ५५५ राशिको पुरस्कार वितरण गर्दै आएको छ ।
महासङ्घले यस वर्षको रु ५० हजार ५५५ राशिको पुरस्कारबाट चिरञ्जीवी घिमिरेलाई सम्मान गरेको छभने गत २०८१ को पुरस्कारबाट पूर्वेली र भण्डारी रु २५ हजार २२५ राशिका दरले सम्मानित हुनुभएको छ ।
यसअघि सो पुरस्कारबाट राजबाबु शङ्कर पुरस्कृत हुनुभएको थियो । पुरस्कारका लागि रु पाँच लाख पाँच हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट पुरस्कार प्रत्येक वर्ष महासङ्घले पुरस्कार वितरण गर्दै आएको छ ।
यसैगरी लैङ्गिक हिंसाविरुद्ध कलम चलाउने पत्रकार जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई महासङ्घले नगद पाँच हजारसहित सम्मान गरेको छ ।



