बिर्तामोड, २५ मंसिर : प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारलाई सामाजिक सञ्जाल फेसबुकबाट धम्कीपूर्ण गालीगलौच गर्ने ‘घरबाटै उठाएदिन्छु’ भन्ने मेचीनगर –७ का अभिशेक चौधरीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पत्रकार संवद्ध संघ संगठनहरुले माग गरेका छन् ।
इजलास दैनिकका सम्पादक समेत रहनुभएका परियारलाई धम्कीपूर्ण गालीगलौच गर्नेलाई कारबाही गर्न प्रेस चौतारी कोशी प्रदेश, जिल्ला शाखा झापा र नेपाल पत्रकार महासंघ झापाले माग गरेको छ । बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै संघ संगठनहरुले कारबाहीको माग गरेका हुन् ।
पत्रकार महासंघ झापाका सचिव (पछिल्लो कार्यकाल) परियारलाई गत मंगलवार राती चौधरीले फेसबुक म्यासेज मार्फत धम्की दिएका थिए । म्यासेज, भोइस म्यासेज र भिडियो कल गरेर पत्रकार परियारलाई धम्की दिएका थिए ।
यसअघि कहिल्यै सम्बन्ध, सम्पर्क नभएका चौधरीले विषय प्रसंग बिनै जातीय विभेदपूर्ण गालीगलौज, आक्रमण गर्ने, घरबाट उठाउने धम्की दिएको परियारको भनाई छ । उनले इलाका प्रहरी कार्यादय अनारमनीमा जाहेरी दिएका छन् ।
उक्त घटनाले पत्रकारको सुरक्षामा गम्भीर चुनौति उत्पन्न भएको जारी बिज्ञप्तिमा उल्लेख छ । श्रमजीवी पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता गैरकानूनी गतिविधिप्रति भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारवाही गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।
पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रता रक्षा गर्नु राज्यको दायित्व भएको र यसप्रति गम्भीर हुन नेपाल पत्रकार महासंघ झापाले जोडदार माग गरेको छ ।




