काठमाडौँ, २९ मङ्सिरः नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने केन्द्रीय नेतृत्व चयनसम्बन्धी निर्वाचन कार्यक्रम संशोधन गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्णय अनुसार यसअघि प्रकाशित निर्वाचन तालिकामा केही संशोधन गरिएको आयोगले जनाएको छ । संशोधित कार्यक्रमअनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रक्रिया महाधिवेशनस्थलमै सञ्चालन हुनेछ ।
संशोधित तालिकाअनुसार २९ मंसिरको बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारका लागि दरखास्त फाराम वितरण गरिनेछ भने सोही दिन बिहान १ बजेदेखि दिउँसो ३ः३० बजेसम्म दरखास्त दर्ता हुनेछ । दिउँसो ४ बजे प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन गरिनेछ भने त्यसविरुद्ध उजुरी दिने समय ४ बजेदेखि ४ः३० बजेसम्म तोकिएको छ ।
उजुरीमाथि छानबिन तथा निर्णय २९ मंसिरकै दिउँसो ५ बजेसम्म हुनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा ५ बजेदेखि ६ बजेसम्म समय दिइएको छ । अन्तिम उम्मेदवार नामावली सोही दिन बेलुका ६ः३० बजेसम्म प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
मतदान १ पुस २०८२ मा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ र मतगणनापश्चात् निर्वाचन परिणाम घोषणा गरिनेछ । नतिजा प्रकाशनपछि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरी शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ ।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा। कुन्साङ लामाद्वारा जारी सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रम फेरबदल गर्न सकिने उल्लेख गरिएको छ । आयोगको निर्णयअनुसार सूचना प्रकाशित गरी समय तालिकामा हेरफेर हुन सक्ने बताइएको छ ।



