जनकपुरधाम, २९ मंसिरः सभामुख चयनको प्रक्रिया अगाडि बढाउन मधेस प्रदेश सभा बैठक आह्वान गरिएको छ।
मधेस प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जनाएको छ।
प्रदेश सभाको बैठकबाट सभामुख निर्वाचन प्रक्रियालाई अनुमोदन गरिने र त्यसै लगत्तै निर्वाचनको कार्यतालिका प्रकाशित गरिने प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिनुभयो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले सभामुखको निर्वाचन प्रक्रियाको लागि बैठक बोलाइएको बताउँदै मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिए प्रदेश सभा निरन्तर चल्ने नभए स्थगित गरिने बताउनुभयो।
गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएपछि पदमुक्त भएका हुनुभएको थियो।
मधेस सरकारमा हाल ७ दल सहभागी रहेकोमा नेपाली कांग्रेसले मुख्यमन्त्री पाएको छ भने गठबन्धनभित्र दोस्रो ठूलो दल रहेको जसपा नेपालले सभामुखमा दावी गर्दै आएको छ।



