काठमाडौँ, ३ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दामा आज पेसी तोकिएको छ । सहकारी ठगी तथा सङ्गठित अपराधको अभियोगमा लामिछाने हाल थुनामा हुनुहुन्छ ।
आज उच्च अदालत बुटवलमा पेसी तोकिएको जानकारी अदालतका सूचना अधिकारी रामबहादुर कुवरले दिनुभएको छ । उक्त मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका कानून व्यवसायीले निवेदन दिँदा बहस रोकिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन भएको भनिएको आफ्नो भागको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।



