मोरङ, ४ पुसः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता तथा कार्यकताहरूसँगको भेटमा कोइरालाले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभयो ।
“प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर छ,” डा. कोइरालाले भन्नुभयो, “संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो । हामी निर्वाचनको मिति कुरेर बसेका छौँ । तर, सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका जन्मिएको छ ।”
सरकारका गतिविधि निर्वाचनका लागि बाधक देखिएको उनको भनाइ छ । “दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिरै छन्,” कोइरालाले प्रश्न गर्दै भन्नुभयो, “यसबारेमा सरकारले के सोचेको छ ?”



