नारायणगढ, ५ पुस: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा परिवर्तन चाहने सबै शक्तिहरूलाई एकताबद्ध गर्न आवश्यक परे आफू सभापति पद त्याग्नसमेत तयार रहेको बताउनुभएको छ।
रिहा भएपछि चितवनमा आयोजित विशेष सम्बोधनमा उहाँले परिवर्तनका लागि मिल्नुपर्ने सबै पक्षसँग संवाद भइरहेको जानकारी दिनुभयो। देशलाई निकास दिनका लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति पदसमेत त्याग्न आफू तयार रहेको उहाँको भनाइ थियो।
लामिछानेले आफू कुनै एक चुनावका लागि मात्र राजनीतिमा नआएको स्पष्ट पार्दै पुस्तागत परिवर्तनका लागि राजनीतिमा प्रवेश गरेको बताउनुभयो। उहाँले भन्नुभयो,“म एउटा चुनावको लागि राजनीतिमा आएको मान्छे होइन, एउटा पुस्ताको लागि आएको हुँ। त्याग गर्ने पहिलो सूचीमा मैले आफ्नो नाम चढाएको छु। पुस्ताको लागि मिल्ने हो भने रवि लामिछानेले त्याग गर्छ, एउटा चुनावको लागि हो भने आई एम सरी।”
उहाँले परिवर्तनका लागि इमानदार र दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साझा उद्देश्यका लागि सबै पक्षबीच एकताबद्ध पहलको आवश्यकता औंल्याउनुभयो।



