मोरङ, ६ पुसः विराटनगरको नोबेल शिक्षण कलेजको भवनबाट खसेर एक जना इन्टर्न गरिरहेका डाक्टर मृत्यु भएको छ।
अस्पतालका निर्देशक दिपेश राईका अनुसार मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ जगदरीका ३४ वर्षीय अमित यादव छन्।
आइतबार बिहान करिब साढे ६ बजे अस्पतालको मुख्यद्वारतर्फको भवनको पाँचौं तलाबाट यादव भुइँमा खसेको निर्देशक राईले जानकारी दिनुभयो।
भवनबाट खसेर टाउकोमा गम्भीर चोट लागेका यादवलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको बिहान करिब साढे ७ बजे मृत्यु भएको हो। मृतक यादव नोबेलमै एमबीबीएस इन्टर्नको दसौं ब्याचका हुन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङकका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार घटनाको प्ररम्भिक अनुसन्धानका क्रममा भवनबाट यादव आफैले हामफालेको देखिएको छ।



