शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

नगर प्रमुख प्रसाईद्वारा ‘नयाँ बुधबारे बजार’ उद्घाटन

शनिवार, भदौ ९, २०८०

बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाका व्यापारीहरुले नयाँ बजार निर्माण सम्पन्न गरेर व्यवसाय सुरु गरेका छन् । उनीहरुले पुरानो बजार नजिकै उत्तर पूर्वमा करिव १ करोड रुपैयांको लागतमा नयाँ बुधबारे बजार निर्माण गरेका हुन् ।

आज एक कार्यक्रमको आयोजना गरी बजारको औपचारिक शुभारम्भ गरिएको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नयाँ बुधबारे बजारको औपचारिक शुभारम्भ गर्नु भयो ।उहांले रिवन काटेर बजारको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, व्यवसायी ओमकृष्ण विमली लगायतको सहभागिता रहेको थियो ।

नयाँ बुधबारे बजारमा ५१ वटा सटर निर्माण गरिएको छ । एकातिरबाट प्रवेश गरेर अर्कातिरबाट बारिह जान सकिने बजारमा लत्ता कपडा, जुत्ता, टेलरिङ, कस्मेटिक लगायतका व्यवसाय रहेका छन्।खानेपानी, विजुली र शौचालयसहितको सुविधा भएको बजारमा २ हजार देखि २५ सयसम्म सटरको भाडा व्यवस्था गरिएको छ ।

पाँच वर्षका लागि जमिन भाडामा लिएर व्यापारीहरुले आफ्नै लगानीबाट स्थापना गरेको बजारमा सहुलियत र गुणस्तरीय सामान पाइने बजारका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो। बजारमा सोही भाडामा सुरक्षा गार्ड, सरसफाई लगायतको सुविधा समेत दिइने छ ।

बजारको उद्घाटन गर्दै नगर प्रमुख प्रसाईले व्यापारीहरुका लागि स्थानीय सरकार सधैं सकारात्मक रहेको बताउनु भयो । उहांले बुधबारे हटिया खाली गर्दा पनि व्यापारीहरुलाई सहयोग गर्ने बचन दिएको स्मरण गराउनु भयो । नगर प्रमुख प्रसाईले बजार व्यवस्थापनका क्रममा व्यापारीलाई समन्वय गर्दै सहयोग समेत गर्ने भन्दाभन्दै कहि संघ संस्थाले प्रतिकुल वातावरण निर्माण गरेर समस्या बनाएको बताउनु भयो ।
उहांले आगामी दिनमा स्थानीय सरकार व्यापारीको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा बिर्तामोड वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई लगायतले व्यापारीको समस्यामा सधैं साथ दिन तयार रहेको बताउनु भयो।

सम्बन्धित खबर