बिर्तामोड, ९ पुस : बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा वडा नं. ५ ले सहज जितका साथ सेमिफाइनलको यात्रा तय गरेको छ ।
वडा नं. ५ ले वडा नं. १ लाई ५–३ गोल अन्तरले हरायो । वडा नं. ५ का विवेक तामाङले–२, सुजन विक, नगेन्द्र खत्री र अंकुर खड्गीले समान १ गोल गरे ।
वडा नं. १ का रितिन मगर, विपिन गौतम र असिमजंग कार्कीले मात्र गोल गर्न सफल भए । सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. तिनसँग प्रतिष्पर्धा गर्ने छ ।
खेलको प्लेयर अफ द म्याच वडा नं. ५ का विवेक तामाङ भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । बिहीबारको पहिलो सेमिफाइनल खेल वडा नं. १० र वडा नं. ७ बीच हुने छ ।
दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा वडा नं. ५ विजयी भएको छ । वडा नं. ५ ले वडा नं. १ लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलको पहिलो मिनेट मै वडा नं. १ ले अग्रता लिएको थियो । वडा न १ का अर्जुन एक्तेनले डि बक्समा पाएको बललाई वान टचमा गोल गर्दै खेललाई १–० को स्थितिमा पुर्याए । त्यसको एक मिनेटमै वडा नं. ५ ले खेल बराबरी गर्यो । वडा नं. ५ का लागि नरेन लिम्बूले पहिलो गोल गरे ।
वडा नं. ५ का लागि अंकुर खड्गीले गरेको गोल खेलको निर्णायक बन्यो । सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. ३ को सामना गर्ने छ ।
खेलको प्लेयर अफ द म्याच वडा नं. ५ का अंकुर खड्गी भए । उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए । भेट्रान्स अन्तरगतको बिहीबार पहिलो सेमिफाइनल खेल वडा नं. ६ र वडा नं. १० बीच हुने छ ।
बुधबारको खेलसँगै बिर्तामोड नगर खेलकुद विकास समितिका आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ ।



