काठमाडौं, १० पुसः प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
‘क्रिसमस डे’ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
‘विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्,’ प्रधानमन्त्री कार्कीको सन्देशमा भनिएको छ।
उहॉंले ‘क्रिसमस डे’ अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।



