बिर्तामोड, ११ पुस : नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताउनुभयो। झापा–५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने चेतावनी दिनुभयो।
सरकारविरुद्ध नेकपा एमाले झापाले आयोजना गरेको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुःखद र अशुभ हुने बताउनुभयो।
उहाँले असंवैधानिक सुशिला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छोड्ने गरी एमाले सडकमा आएको बताउनुभयो। विदेशी शक्तिहरूको इसारामा देशलाई सिध्याउने खेल स्वीकार्य नहुने उहाँको धारणा छ।
नेता पाठकले संसद् पुनर्स्थापना नभएसम्म मुलुकले निकास नपाउने बताउँदै पुनर्स्थापना नभएसम्म सडक नछोड्ने चेतावनीसमेत दिनुभयो। उहाँले देशको रक्षाका लागि आम जनतालाई समेत सडकमा आउन आह्वान गर्नु भयो।
यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरूलाई तह लगाउन एमाले टाउकोमा कात्रो बाँधेर सडकमा निस्किएको बताउनुभयो। उहाँले संविधान मिच्ने र विदेशी गतिविधिलाई टुलुटुलु हेरेर बस्न नसकिने बताउँदै खबरदारी गर्नुभयो।
यस्तै, नेताहरूले यो सरकारले निर्वाचन गर्न नसक्ने दाबी गर्नुभएको छ। उता, दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवेन्द्र दाहालले कानुन बनाउन र हरेक मुद्दाको फैसला गर्न जनताबाट निर्वाचित संसद् पुनर्जीवित गर्नुपर्ने बताउनुभयो। एमालेका लागि मात्र नभई अन्य पार्टी र जनताका लागि पनि संसद् विघटन मान्य नहुने उहाँको भनाइ थियो।
नेकपा एमालेले झापाको बिर्तामोड र दमकमा एकै दिन सरकारविरुद्ध खबरदारी कार्यक्रम गर्नुभयो। बजार परिक्रमा गर्दै कोणसभा आयोजना गरिएको थियो।



