शिर्षक: सत्ताच्युत
सत्ता उन्मादले मात्तिएर
तिमी विवेक गुमाउँदै छौ
आफ्नो अनुहार ऐनामा नहेरी ।
तिमी भ्रमित सपना बाँड्दै
हामीलाई दास बनाएर
हाम्रो टाउकाको मूल्य तोकी
नर संहारमा उत्रिएका छौ ।
तिमी सँग सैन्य दस्ता होला
तिम्रो बिरासत जोगाउने
तिम्रा कठपुतली होलान
तिम्रो आदेश पालना गर्ने
तिमी दरबारमा बसेर
तरबार नचाउँदै
ताण्डव नृत्यमा रमाउँछौ
मदिराको चुस्की लिएर
जनघाति निर्णय गरे पछि
तिमी मस्तले निदाउँछौ ।
पुस्तौ पुस्ता हामी रैती
अनेकौ दुब्र्यबहार पचाउँदै
तिम्रो भजन गाएकै हो
तिमीले तथास्तु भन्न सकेनौ
हाम्रो गरिबी देखेर पनि
तिमी निर्दयी र क्रुर त छदै छौ
हाम्रा लालाबालाको दुःख बिमार नदेख्ने ।
हामीले जदौ हजुर भने पछि
तिमीले आशीर्वाद दिन सक्नु पथ्र्यो
तिमी त अन्धो कानुन हातमा बोकी
आफूलाई महाराज ठान्दै
हामी माथि जाइ लाग्यौ किन ?
तिम्रो दानवीय प्रविृत्ति बाट आजित
हामीमा बिद«ोही चेत पसि सक्यो
हामी भुइँ मान्छे नै सदर
आफ्नो पहिचान गुमाएर
बाँचेको जुगौ भइ सक्यो
हाम्रो आफ्नै लालपुर्जा छैन
हामीलाई अनागरिक बनाएर
नागरिकता दिएनौ किन ?
खुला आकाशलाई छानो बनाई
सुतेको देख्दा पनि
एउटा घर दिएनौ किन ?
मालिक र नोकर
मुखिया र रैती
यो बर्ग विभेद कहिले सम्म ?
हामी क्रान्ति गर्छौ
तिम्रा विरुद्ध
तिमीलाई सत्ताच्युत गराएर
हामी सत्तासीन हुन्छौ अब ।
प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ



