बिर्तामोड, १३ पुस । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रतिष्पर्धा आज हुँदैछ ।
सहिद नेत्र पार्कको खेल मैदानमा हुने फाइनल प्रतिष्पर्धा रोमान्चक बन्ने अपेक्षा दर्शकको छ । उपाधिका लागि वडा न १० र वडा न ३ प्रतिष्पर्धा गर्दैछन् । ठिक १ बजे सुरु हुने फाइनल भिडन्तका लागि दुबै टिम तयार रहेका छन् ।
बिर्तामोड-१० ले क्वाटर फाइनलमा वडा न २ लाई ५-०, सेमिफाइनलमा वडा न ७ लाई ३-१ गोल अन्तरले हराउदै फाइनलमा स्थान पक्का गरेको हो ।
वडा न ३ ले पहिलो चरणमा वडा न ८ लाई ८-१ ले हराएयो । ३ ले क्वाटरफाइनलमा वडा न ९ लाई ४-१ ले र सेमिफाइनलमा वडा न ५ लाई सडन डेथमा पराजित गरेको थियो ।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेका वडा न ३ का स्ट्राइकर आशिष चापागाईं टिमलाई उपाधि दिलाएर आफू प्रतियोगिताको उत्कृष्ट खेलाडिका रुपमा प्रमाणित हुने दाउमा छन् । तर, खेल अवधिमा उनले संयमित भएर प्रदर्शन गर्न जरुरी छ ।
वडा न १० को पनि टिम सेट भएका कारण उपाधिको प्रबल दावेदार मानिएको छ । डिफेन्डिङ च्याम्पियन १० यो पटक पनि उपाधि रक्षा गर्ने योजनामा रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता भरीको एकजना उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोल किपर र उत्कृष्ट मिडफिल्डलाई जनहि नगद ५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजक बिर्तामोड नगर खेलकुद बिकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिनुभयो ।
वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल अघि वडा स्तरीय भेट्रान्स फुटबलको पनि फाइनल हुदैछ । फाइनलमा उपाधिका लागि वडा न ५ र वडा न १० प्रतिष्पर्धा गर्ने छन् ।
भेट्रान्स फुटबलको बिजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार रुपैया पुरस्कार पाउने छन् । वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा नगरका ८ वडा वडाका खेलाडीको सहभागिता रहेको थियो ।



