बिराटनगर, १४ पुसः विरामीको ज्यान जोगाउन प्रयोग गरिने एम्बुलेन्सभित्र ४ सय ८० किलो गाँजा राखेर तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले रातको समयमा फिल्मी शैलीमा कारबाही चलाएको छ ।
मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा आइतबार राति एम्बुलेन्सलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।
धनकुटाबाट मोरङ हुँदै भारततर्फ गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरिएको थियो । प्रहरी टोलीलाई देख्नासाथ एम्बुलेन्स छोडेर भाग्न खोजेपछि प्रहरीले बल प्रयोग गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स खानतलासी गर्दा १६ वटा पोकामा प्याक गरिएको करिब ४ सय ८० किलो गाँजा बरामद गरेको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा सहिदभूमि गाउँपालिकाका ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू रहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालका अनुसार राति ११ बजेको समयमा यो अपरेसन सफल पारिएको थियो ।
पक्राउ परेका दुवै व्यक्ति र बरामद गरिएको गाँजालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । प्रहरीले पछिल्लो समय मोरङको बाटो हुँदै भारततर्फ हुने गाँजा तस्करीमा कडाइ गर्दै आएको छ ।
यसअघि शनिबार राति मात्रै जहँदा गाउँपालिकामा प्रहरीले हवाई फायर गरी ३ सय ३० किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।




