बिर्तामोड, १६ पुस : भूमिसुधार तथा मालपोत कार्यालय झापामा जग्गा किनबेचको एउटा घटना विवादमा आएको छ । जग्गा विक्री गर्ने प्रक्रियामा विवाद भएपछि मंगलवारदेखि मालपोत कार्यालयमा सेवा नै प्रभावित भएको थियो ।
मोही बापत जग्गा प्राप्त गरेको दावी गर्ने बिर्तामोड – १ स्थित कुडानी राजवंशीको श्रीमति जामानु राजवंशीले आफ्नो जग्गा विक्रीमा अवरोध खडा गरिएको बताइन् । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनले श्रीमानको निधन अघि आफ्नो नाममा मोही सारी गरिएको र सो जग्गामा मुद्धापछि प्राप्त गरेको जग्गा विक्री गर्न खोज्दा अवरोध भएको गुनासो गरिन् ।
भूमिसुधार तथा मालपोत कार्यालय झापाले बिर्तामोड– १ स्थित भीमबहादुर कार्कीको परिवारले ०३५-३६ सालमा खरिद गरेको जग्गाबाट राजवंशी परिवारले गत मंसीर १५ गते मोही लगत कट्टा गरी १ विघा जग्गा प्राप्त गरेका थिए ।
प्राप्त विवरण अनुसार कार्की परिवारको नाममा दर्ता कायम रहेको ५ बिगाहा ६ कठ्ठा १० धुर जमिनमा राजवंशी परिवारले मोही हक दावी गरेको थियो । पत्रकार सम्मेलनमा जामानु राजवंशीले भनिन्, त्यो जग्गामा मेरो श्रीमान (कुडानु राजवंशी) ले भोग गरेको हो । जोतभोगका आधारमा श्रीमानको नाममा मोहीयानी हक कायम भएको थियो ।
मोहीयानी हक कायम भएकै आधारमा तीन बिगाहा जमिनमा राजवंशी परिवारले मोही हक दावी गरेका थिए । उक्त दावीका आधारमा उनीहरुको नाममा एक बिगाहा जमिन कायम गर्ने गरी फैसला भइसकेको छ ।
कुडानुको २०३७ सालमा निधन भएपछि सो जग्गा उनकी श्रीमती जानाकीले भोकचलन गरेको बताइन्छ । सो जग्गा कुडानु राजवंशीको निधन हुनुअघि नै श्रीमती जानाकी राजवंशीको नाममा श्रेष्ता सारिएको उनीहरुको दावी छ । जानाकीका अनुसार श्रीमानको निधनपछि देवर सुरनलाल राजवंशीले सो जमिन कमाएका थिए ।
जग्गा कमाउने विषयमा पछि विवाद भएपछि केहि समय बाँझो राखिएको उनीहरुको भनाई छ । सो जग्गा २०२१ सालको दर्तावाला मोही आफ्नो श्रीमान भएको जनाउदै राजवंशीले जग्गा छुट्याउन भन्दै निवेदन दिएकी थिइन् । निवेदनको आधारमा भुमिसुधार तथा मालपोत कार्यालय झापाले राजवंशीको पक्षमा फैसला गर्दै जग्गा दिलाएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
राजवंशीले आफ्नो नाममा जग्गा आएपछि घर बनाउन जग्गा बेच्ने निर्णय लिई प्रक्रिया अघि बढाउदा अवरोध भएको गुनासो गरिन् । जानाकी राजवंशीलाई भतिज रामबहादुर राजवंशी रेखदेख गर्दै आएका छन् । उनीहरुले मालपोत कार्यालय जग्गा विक्रीका लागि जाँदा आफुहरुलाई नक्कली मोही करार गर्न खोजेको बताइन् ।
जानाकीका भतिजा रामबहादुरका अनुसार मोही बापत एक बिगाहा जग्गा पाएको र त्यसैमध्येबाट ५ कठ्ठा जग्गा बिक्री गर्न खोज्दा समस्या आएको जानकारी दिए । आफुले पाएको जग्गा विक्री गर्न नपाएपछि उनीहरुले न्यायका लागि अपील गरेका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत लेवन काश्यप अधिकारीले कानुनी प्रक्रिया बमोजिम कार्यालयको तर्फबाट फैसला गरिसकेको जानकारी दिए । दुवै पक्षलाई फैसला उपर चित्त नबुझेको खण्डमा उच्च अदालत जान सकिने सुविधा भएको उनको भनाई छ । कार्यालयको तर्फबाट गर्ने फैसलामा कुनै समस्या छैन, उनले भने – गलत भएमा उच्च अदालतले बदर गरिदिन्छ, ठिक भएको खण्डमा सदर गरिदिन्छ । कानुनी राज्यमा सबैले कानुनी व्यवस्थालाई मान्नुपर्ने भन्दै कार्यालय प्रमुख अधिकारीले भने – बदर हुने अवस्थामा हामी पनि कारबाहीको भागेदार बन्नैपर्छ ।
उक्त जग्गा ०५० सालमा प्रक्रिया पुरा गरेर लगत कट्टा गरिएकोमा फेरि उल्टाएइएको जग्गाधनी परिवारका सुशिल कार्कीले जानकारी दिए । उनका अनुसार हजरवुवा भीमबहादुर कार्कीले ०३५-३६ सालमा जग्गा खरिख गरेका हुन् । ०३७ सालसम्म मोही भोग गरेर छोडेको जग्गा परिवारभित्र ०४६ सालमा अंशवण्डा भएको थियो, उनले भने – २०५० सालमा भूमि सुधार तथा मालपोत कार्यालय झापाले नै लगत कट्टा गरेको हो ।
०८१ सालमा श्रीमतिको नाममा रहेको मोही श्रीमानको नाममा कटौती गरेको भन्दै राजवंशीले मुद्धा दर्ता गराएको कार्कीले जानकारी दिए । ०८२ को मंसिरमा मुद्दाको फैसला भई राजवंशी परिवारलाई जग्गा दिएको भन्ने सूचना छ, कार्कीले भने – कुन जग्गा दियो, कति कित्ता नं. को जग्गा दियो हामीलाई थाहा छैन । विक्री हुदैछ भन्ने सुनेपछि कार्यालय गएर रोकेका हौं ।
जग्गाधनीलाई नै थाहा नदिई धनिपुर्जा समेत बनिसकेको सुन्दा अचम्म लागेको छ, उनले थपे – आफैले लगत कट्टा गरिसकेको जग्गामा फेरि मोही दिन कसरी मिल्छ ? यसमा भूमिसुधार तथा मालपोत कार्यालयको सेटिङ छ । उनले उक्त जग्गा प्रकरणमा जोडिएका दोषीहरुलाई कारबाहीको माग गरेका छन् । कर्मचारीदेखि जग्गामा जोडिएका मान्छेहरुलाई कारबाही हुनुपर्छ । उनले जग्गामा कुनै कैफियत छ भने हामी अझै पनि छानविनको लागि तयार छौं, कार्कीले भने ।



