बिर्तामोड, १७ पुसः नारी सञ्चार गृह झापाले महिला पत्रकारहरूका लागि कृत्रिम बुद्धिमत्ता(एआई) सम्बन्धी तालिम सम्पन्न गरेको छ।
गृहको आयोजनामा सञ्चालित दुई दिने तालिम आज एक समारोहका बीच समापन भएको हो । संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा समापन भएको कार्यक्रममा पत्रकारहरूको सीप विकास र व्यावसायिकतामा जोड दिइएको थियो।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले महिला पत्रकारहरूको दक्षता वृद्धिका लागि नारी संचार गृहले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा महासंघले पनि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यले महिला संचारकर्मीहरूलाई प्रविधिमैत्री र समाचार लेखनमा थप निपुण बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो।उहाँले तालिमले सहभागीहरूको ढुक्कसँग काम गर्ने आत्मविश्वास बढाएको विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशिक्षक उमाकान्त खनालले पत्रकारितामा एआईको प्रयोग, समाचार लेखन, तथ्य जाँच, सामग्री सम्पादन तथा डिजिटल माध्यममा एआईको भूमिका र चुनौती बारे प्रशिक्षण दिनुभएको थियो ।
तालिममा झापाका विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूको सहभागिता रहेको थियो। तालिम सहभागी सविना लिम्बूले तालिममा सिकेको सीपले कार्यक्षेत्रमा नयाँ ऊर्जा थप्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, संस्थापक अध्यक्ष साबित्रा दाहाल, प्रशिक्षार्थी रमा दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो । आदर्श स्कुल अफ मेनेजमेन्ट र लिंकन मन्टेस्वरीको सहयोगमा तालिम सम्पन्न भएको हो ।




