झापा, २० पुसः जाडो मौसमलाई मध्यनजर गर्दै 'मिसन झापा' ले अर्जुनधारास्थित बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच बिर्तामोड निवासी समाजसेवी माधव कुमार झाको सक्रियतामा विद्यालयका २०० जना विद्यार्थीहरूलाई तातो ट्र्याकसुट र खेलकुद सामाग्री प्रदान गरिएको हो।
चिसोका कारण विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा बाधा नपुगोस् भन्ने उद्देश्यले यो सहयोग कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै समाजसेवी माधव कुमार झाले भने, "सानो सहयोगले पनि बालबालिकाको स्वास्थ्य र शिक्षामा ठुलो टेवा पुग्ने विश्वासका साथ हामीले यो अभियान चलाएका हौँ।"
विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले यो मानवीय कार्यका लागि मिसन झापा र माधव कुमार झाप्रति आभार व्यक्त गरेका छन्।




