बिर्तामोड, २० पुस : नेकपा एमालेका नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक वातावरण अझै नबनेको बताउनुभएको छ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति तोके पनि अहिलेसम्म निर्वाचनको अनुकूल वातावरण तयार हुन नसकेको बताउनु भएको हो ।
झापाको बिर्तामोडस्थित आफ्नै निवासमा आइतबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वकानुन मन्त्रीसमेत रहनुभएका नेता खरेलले संविधानलाई ट्र्याकमा ल्याउन निर्वाचन अपरिहार्य भएको बताउनुभयो। निर्वाचन हुन नसके संसद् पुनःस्थापना हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
नेता खरेलले जेन–जीले उठाएका मागहरू वर्तमान सरकारले पूरा गर्न नसक्ने उल्लेख गर्दै ती माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभयो। त्यसका लागि संसद् चाहिने भएकाले जेन–जीहरूले यस विषयमा गम्भीर रूपमा सोच्नुपर्ने उहाँको भनाइ छ।
निर्वाचनको वातावरण बनाउनका लागि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा हुनुपर्ने खरेलको भनाइ थियो। एमाले निर्वाचनबाट नभाग्ने स्पष्ट पार्दै उहाँले पार्टीले संसद् पुनःस्थापनाको मुद्दा र निर्वाचन तयारीलाई सँगसँगै अघि बढाइरहेको बताउनुभयो।




