काठमाडौँ, २१ पुस । ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो ।
यसअघि ओलीले सिंहदरबारस्थित जाँचबुझ आयोगमा गएर बयान नदिने बताउँदै आउनुभएको थियो । आइतबार आयोगको टोली पत्रसहित ओली निवास गुन्डुमै पुगेर लिखित जवाफ लिई फर्केको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीले भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा लिखित जवाफ आयोगलाई बुझाउनुभएको छ । प्रवक्ता शर्माले भन्नुभयो, “उहाँको लिखित बयान आएको छ । बयान अध्ययन गरेर स्थानहदसहित विषयमा निर्णय हुन्छ । साथै आयोगले प्रतिवेदन लेखन कार्य पनि सुरु गर्ने छ ।” ओलीले के बयान दिनुभयो भन्ने शर्माले खुलाउन चाहनुभएन । “त्यो कुरा प्रतिवेदनमै आउँछ,” उहाँको भनाइ थियो ।
यसअघि असोज १२ गते आयोगले तत्कालीन प्रधानमन्त्रीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन पत्राचार गरेको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितलाई आयोगको स्वीकृतिबिना काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको थियो । गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । पूर्व गृहमन्त्री लेखकसहितको स्थानहद फुकुवा भइसकेको छ ।




