काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको हो ।
दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
साथै उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनुभयो ।
यही पुस २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते, केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । कार्यवाहक सभापति खड्काकाअनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुङ्गामा शोक सभाको आयोजना गर्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । प्रश्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको छ । दाहालको शनिबार बिहान निधन भएको हो ।



