मिसिसिपी, २७ पुस। अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा गोलीबारीका घटनाहरूको शृङ्खलामा परी ६ जनाको ज्यान गएको छ । उक्त घटनापछि शनिबार एकजना संदिग्धलाई हिरासतमा लिइएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
क्ले काउन्टीका शेरिफ एडी स्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा अलाबामा राज्यको सीमानजिकै पर्ने वेस्ट पोइन्ट सहरमा ‘हिंसाका कारण’ धेरै निर्दोष व्यक्तिले ज्यान गुमाउनुपरेको बताउनुभयो । उहॉंका अनुसार घटनाहरू फरक–फरक तीन स्थानमा भएका थिए, जहाँ कुल छ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
शेरिफ स्कटले स्थानीय सञ्चार माध्यम डब्ल्यूटीभीएसँग कुरा गर्दै तीनवटै स्थानमा भएको गोलीबारी एकआपसमा सम्बन्धित रहेको र ती घटनाबाट छ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहॉंका अनुसार घटनासँग सम्बन्धित एक संदिग्धलाई सुरक्षाकर्मीहरूले हिरासतमा लिइसकेका छन् ।
सामाजिक सञ्जालमार्फत नै शेरिफ स्कटले हाल समुदायका लागि कुनै थप खतरा नरहेको बताउनुभएको छ । “म सबैलाई अनुरोध गर्दछु कि कृपया पीडितहरू तथा उनीहरूका परिवारजनलाई आफ्ना प्रार्थनामा सम्झिनुहोस्”, उहॉंले लेख्नुभएको छ । साथै उहॉंले कानुन कार्यान्वय गर्ने निकायहरू घटनाको गहिरो अनुसन्धानमा व्यस्त रहेको र सम्भव भएसम्म चाँडै थप जानकारी सार्वजनिक गरिने पनि बताउनुभयो ।



