बिर्तामोड, २९ पुस : नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टी फुटाएर देश र जनतालाई निराश नबनाउन काठमाडौँमा रहेका नेताहरूलाई चेतावनी दिएका छन् ।
आज झापाको बिर्तामोडमा आयोजित भेलामा सहभागी कार्यकर्ताहरूले काठमाडौँ गएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी एक बनाएर फर्कन अपिल गरेका हुन् ।
भावुक र चिन्तित कार्यकर्ताहरूलाई छोटो सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले पार्टी फुटाउने प्रयास गर्ने नेताहरूलाई सहिद तथा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको श्राप लाग्ने चेतावनी दिनुभयो । उहाँले पार्टी एकताको कामना गर्दै आज साँझ घर–घरमा दीप प्रज्वलन गर्न कांग्रेस कार्यकर्तालाई अपिल गर्नुभयो । साथै, कसैको मानमर्दन हुने गरी अशिष्ट र भद्दा गालीगलौज नगर्न पनि उहाँले जोड दिनुभयो ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको “बाटो बिराएकालाई सही बाटोमा हिँडाउने कार्यमा कांग्रेसले अगुवाइ गर्नुपर्छ” भन्ने भनाइ स्मरण गराउँदै सचिव हुमागाईंले सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा गालीगलौज र अमर्यादित भाषा प्रयोग गर्ने व्यक्तिले नेपाली कांग्रेसको नीति, सिद्धान्त र बीपीको विचार बुझ्न नसकेको टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसका नेताहरू जहाँ–जहाँ लागे पनि आफूहरू बीपीले रचना गरेको चारतारे झण्डा र रुख चिन्ह जहाँ हुन्छ, त्यही रहने स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस बिर्तामोडका सभापति भोजराज सिटौलाले जेल, नेल, यातना र निर्वासन भोगेका लाखौँ कार्यकर्तालाई निराश बनाउने काममा लाग्ने जोसुकै भए पनि जनता र कार्यकर्ताले स्वीकार गर्न नसक्ने बताउनुभयो ।
काठमाडौँ गएका साथीहरूले पार्टी एक नबनाई फुटाएर जिल्ला फर्किएर कसरी मुख देखाउने ? भन्ने प्रश्न गर्दै गम्भीर भएर सोच्न उहाँले आग्रह गर्नुभयो ।
देश र जनताले सग्लो कांग्रेस चाहेको उल्लेख गर्दै सिटौलाले पदको लोभमा जनता र कार्यकर्ताको भावनासँग खेलबाड नगर्न सचेत गराउनु भयो ।



