काठमाडौं, ५ माघः दक्षिणी स्पेनमा भएको रेल दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। दुर्घटनामा ३० भन्दा बढी गम्भिर घाइते छन्। त्यहाँको रेल सञ्जाल सञ्चालन गर्ने एडिफ (एडिआइएफ) का अनुसार मालागाबाट म्याड्रिडतर्फ गइरहेको एउटा तीव्रगतिको रेल कोर्डोबा नजिकैको आदामुज सहर नजिकै रेलको पटरीबाट खसेर छेउमा रहेको अर्को ट्रयाकमा अर्को रेलसँग ठोक्किन पुगेको थियो। त्यसपछि म्याड्रिडबाट ह्वेल्भातर्फ जाँदै गरेको अर्को रेल पनि पटरीबाट बाट बाहिर खसेको थियो।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाले देश गहिरो पीडामा परेको बताए।यातायात मन्त्री ओस्कार पुयन्तेका अनुसार घाइते भएकाहरुलाइ अस्पताल पुर्याइएको छ। उनले घटनालाई ‘अत्यन्तै अनौठो’ भनेका छन्। घटना के भएर भयो भने कुराको आधिकारिक कारण अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारण पत्ता लगाउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ।
दुर्घटनापछि म्याड्रिड र आन्डालुसिया बीचका सबै रेल सेवा स्थगित गरिएका छन् र ती सोमबारसम्म बन्द रहने छन्। प्रभावित यात्रुका लागि टर्मिनलहरू रातभर खुला राखिने पनि कम्पनीले जनाएको छ। मालागाबाटको यात्रामा सेवा दिएको निजी रेल कम्पनी इर्यो ले पटरीबाट रेल खसेको पुष्टि गर्दै रेलमा करिब ३०० यात्रु सवार रहेको जानकारी दिएको छ।



