शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

मोटरसाईकल दुर्घटनामा जेसिका सिग्देल र सागर घिमिरेको मृत्यु

बिहिवार, भदौ १४, २०८०

बिर्तामोड । झापामा शिवसताक्षी र बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ
बुधबार कनकाई पुलमा दुई वटा मोटरसाइकल आपसमा जुध्दा एक किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– ५ निवासी १८ वर्षीया जेसिका सिग्देल रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई पुलमा बुधवार साँझ पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

दुर्घटनामा परी मे ३ प ५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको हात, ढाडमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार जेसिका सिग्देलको दाहिने कानबाट रगत बग्दा गम्भीर घाइते भएकी थिइन् ।

घाइते दुवै जनालाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र जेसिकाको सोही अस्पतालमा उपचारको क्रममा राति सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक जेसिकाले भर्खरै महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी थिइन् । जापान जाने तयारीमा रहेकी उनी आफ्ना डकुमेन्ट पुर्याएर विराटनगरबाट फर्किँदा दुर्घटनामा परेको बताइएको छ ।

यस्तै बिर्तामोडमा बुधबार राति पौने १ बजे दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका– ५ निवासी २६ वर्षीय सागर घिमिरे रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तगत बिर्तामोड ३ स्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ५५६८ नम्बरको मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृतक घोषित गरेका थिए । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी हुन् ।

५१४० नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– १० निवासी २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपानेसमेत गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर