दमक, ८ माघ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता र आपराधिक गतिविधिको आयु लामो नहुने भन्दै यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाडिने बताउनुभएको छ।
बिहीबार झापाको दमक–८ स्थित तत्कालीन नेकपा (माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकन गर्ने क्रममा ओलीले विध्वंस मच्चाउनेहरूलाई कारबाहीको दायरामा ल्याइने विश्वास दिलाउनुभएको हो।
नेता पुरीसँग कुराकानी गर्दै ओलीले भन्नुभयो, ‘सधैँ अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छाडिन्छ नि। बरु उजुरी–निवेदनलगायतका प्रक्रिया अघि बढाउनु होला।’
जवाफमा पुरीले आफूले घटनासँग सम्बन्धित सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाइसकेको जानकारी गराउनुभयो।
पुरीको घर अवलोकनपछि ओली दमकस्थित तत्कालीन नेकपा (माओवादी)को पार्टी कार्यालयमा भएको क्षतिको निरीक्षण गर्दै गौरादहतर्फ प्रस्थान गर्नुभएको छ।



