बिर्तामोड, ११ माघ : झापामा पौरखी जेनजीलाई सम्मान गरिएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लिले बिर्तामोडमा आज एक कार्यक्रमको आयोजना गर्दै पौरखी जेनजीलाई सम्मान गरेको हो ।
सो अवसरमा लोकतन्त्र पोष्ट म्यागेजिन २०८२ लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि महेन्द्र गिरी, र पौरखी जनजीहरुको हातबाट म्यागेजिनको लोकार्पण गरिएको हो । १५ जना पौरखी जेनजीहरुको कथा म्यागेजिनमा लेखिएको छ । १५४ जना पौरखी जेनजीहरुबाट छनौट गरिएकामध्ये विभिन्न क्षेत्रमा क्रियाशिल १५ जनाको सफलताको कथा म्यागेजिनमा लेखिएको छ ।
जेनजीहरुबाट प्रेरणा प्रदान गर्न र सकारात्मक धारणा सञ्चार गर्न म्यागेजिनमा उनीहरुको सफलताको कथा लेखिएको प्रधान सम्पादक मोहन काजी न्यौपानेले जानकारी दिए । उनका अनुसार कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराँते खेलाडी कृपा चापागाई, डा. चेवनराज कार्की, गायिका रचना रिमाल, नवप्रवद्र्धक सबिन बाँस्कोटा, गायक-कलाकार अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियान्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम ढकाल, फुटबलर अनन्त तामाङ, अभियान्ता तनुजा पाण्डे, क्रिकेटर अंकित सुवेदी, नवप्रवर्तन राहुल विष्ट-तेज मगर÷उत्सव दाहाल र कला तर्फ मनिषा राजवंशीको सफलताको कथा लेखिएको छ ।
प्रमुख अतिथि गिरीले लोकतन्त्र पोष्टले युवाहरुमा भएको संभावनालाई बाहिर ल्याएको बताए । उनले युवाहरुको पौरखले समाजलाई प्रेरणा मिल्ने गिरीको भनाई थियो । युवा पुस्ताले समस्या देख्दा निराश नभई समाधानको बाटो खोज्नुपर्छ, गिरीले भने ।
काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लिको अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पौरखी जेनजी सम्मानबाट सम्मानित स्वेता बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।



