झापा, १६ माघः मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’को सातौँ संस्करण यही माघ २४ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुने भएको छ।
फागुन ४ गतेसम्म चल्ने यस वर्षको प्रतियोगितालाई ‘एक्स्ट्रम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण’ का रूपमा आयोजना गरिन लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित यस संस्करणमा पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। आयोजकका अनुसार यस वर्षको विजेता टोलीले नगद १५ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ। यस वर्षको अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० वटा प्रतिष्ठित टोलीहरूको सहभागिता रहनेछ।

नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन्।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यका साथ २०७२ सालदेखि सुरु भएको यो प्रतियोगितालाई थप व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको अध्यक्ष केदार गिरीले जानकारी दिनुुभयो । ‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रूपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ,’ अध्यक्ष गिरीले बताउनुुभयो ।
झापा जिल्लाका एक पुराना फुटबल खेलाडी र रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई जनही २५ हजार रुपैयाँले सम्मान तथा सहयोग प्रदान गरिने कार्यक्रमसमेत रहेको छ। यस प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रम इनर्जी ड्रिङ्क्स’ रहेको छ भने विधागत पुरस्कारको सौजन्य अमेरिका निवासी रोशनलाल श्रेष्ठको टोलीले गरेको छ।



