शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिन ५० जनाभन्दा धेरैको ईच्छा

मङ्गलवार, भदौ १९, २०८०

भद्रपुर, भदौ १९ । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिनका लागि धेरैले ईच्छा देखाएका छन्।
शिशुलाई हकदावी गर्न आफ्नै अभिभावक आउने संभावना नदेखेपछि अभिभावकत्व लिन ५० जना भन्दा बढी व्यक्ति इच्छुक देखिएका हुन् ।

डाक्टर , इन्जिनियर , राजनीतिकर्मी , प्राध्यापक , उद्योगी , व्यवसायीलगायतले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका छन् ।
भद्रपुरका नगरप्रमुख गणेश पोखरेल , उपप्रमुख राधा कार्की, नगरपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीका साथै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मी, डीएसपी खगेन्द्रप्रसाद रिजाल, प्रादेशिक अस्पतालका संचालक समिति, चिकित्सकलगायत धेरैजनालाई शिशु लिनका लागि भनसुन गर्न थालिएको छ ।

शिशुका लागि झापा, इलाम, खोटाङ , दाङलगायतका जिल्लासंगै विदेशबाट समेत फोन आउने गरेको बताइएको छ ।
भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै गत शुक्रवार सात दिने सूचना निकालेको छ । उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन सूचनामा उल्लेख छ ।

ती शिशुको अभिभावकको हकदावीको म्याद नसकिदै अभिभावकत्व लिन चाहने बाहिरका व्यक्तिहरुको ताँती देखिएको हो । नगरप्रमुख पोखरेलले अभिभावकत्व दिनैपर्ने अबस्था आए, पछि अप्ठ्यारो नपर्नेगरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिने बताउनु भयो। 

सम्बन्धित खबर