काठमाडौँ, १८ माघः चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालले आज जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२ः४५ बजे उपचारका क्रममा निधन भएको हो ।
सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।
अवस्थामा गम्भीर भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ ।
स्वर्गीय सिटौला चलचित्र पत्रकारितामा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । उनको निधनले नेपाली चलचित्र पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।



